पुस १६, काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रवार भेटवार्ता भएको छ। अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रवार बिहान उनकै निवासमा पुगेका हुन्।

एनीहरुबीच पार्टी एकताबारे कुराकानी भएको छ। ‘हामीबीच समान विचार छ, पार्टी एकताका विषयमा कुराकानी भएको छ,’ राप्रपा महामन्त्री राणाले भने।

समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरेको छ। त्यसले विभिन्न पार्टीहरूसँग एकताका लागि वार्ता गरिरहेको छ। सोही क्रममा मिश्रसँग भेटघाट गरी छलफल अगाडि बढाइएको राणाले बताए। ‘यो प्रारम्भिक भेट हो, एकताकै लागि गरिएको भेटघाट पनि हो,’ राणाले भने।

यता अध्यक्ष मिश्रले भेटमा राजनीतिसँगै राजकाज संवाद भएको जानकारी दिए। राजनीति, समाज र देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको उनले बताए। कट्टर राजावादी नेताहरूसँग राजतन्त्रको पक्षमा वकालत सुरु गरेका मिश्रको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Related News