चैत्र २८, काठमाडौं | राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालको सपथ ग्रहण मंगलबार हुने भएको छ । संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे सपथ ग्रहण हुने भएको हो ।

दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विदादेवी भण्डारीले दाहाललाई मनोनयन गरेकी थिइन् ।

बिडारीसहित २० जना राष्ट्रिय सभा सदस्यको १२ माघमा चार वर्षे कार्यकाल पूरा भएको थियो । १९ जनाको स्थानमा निर्वाचन भएको र १८ जना पाँच दलीय गठबन्धनको र एकजना एमालेबाट निर्वाचित भइसकेका छन् । उनीहरूले यसअघि नै सपथ ग्रहण गरिसकेका छन् । तर, बिडारीको स्थानमा भने मनोनीत हुन बाँकी थियो । सोही स्थानमा दाहाल मनोनीत भएका हुन् ।