वैशाख २६, काठमाडौँ | नेकपा एमालेबाट काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापितले चुनावी अभियानको क्रममा निरन्तर विवादित अभिव्यक्ति दिँदै आइरहेका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा उनले आफूलाई भोट नदिनेहरु नर्कमा जाने अभिव्यक्ति समेत दिन भ्याएका छन् ।

आज (सोमबार) काठमाडौंको त्रिपुरेश्वर–११ स्थित एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफू सो क्षेत्रमा निरन्तर लागेको बताउँदै भोट नहालेमा नर्क जाने अभिव्यक्ति दिएका हुन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ । यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ ।’

त्यसैगरी उनले कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सो क्षेत्रमा दुख गरेको र अन्य पार्टीले त्यहाँ भोट किनेमा पाप लाग्ने भन्दै सो कुरा बताएको प्रस्टयाएका हुन् ।

‘यो भनेको सांकेतिक कुरा हो क्या । एउटा पवित्रको बाटो हुन्छ । अर्को पाटो चाँही मासुभात खाने अनि बाटोमा सुत्ने खालको हुन्छ । केही राजनीतिक पार्टीले हाम्रा दाजुभाइ दिदीबहिनीलाई किन्न सकिन्छ भन्ने शब्द प्रयोग गरेको छ । कोही किनियो भने त नर्कमा नै जान्छ भन्न खोजिएको हो । ’ उनले सो कुरालाई थप प्रस्ट पार्दै भने ।

यसअघि पनि स्थापितले चुनावी अभियानको क्रममा विभिन्न विवादि अभिव्यक्ति दिँदै त्यसलाई स्पष्टीकरण दिँदै आइरहेका छन् ।