<p><b>वैशाख २८, काठमाडौं | </b>नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो नाम र तस्बिर प्रयोग गरी नक्कली खाता खोलिएको बताएका छन्।बुधबार प्रेस विज्ञप्ती जारी गर्दै घिसिङले आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक अन्य कुनै ट्वीटर ह्यान्डल नभएको प्रष्ट पारेका छन्।</p><p>उनले भने, ‘मेरो नाम र तस्विर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको छ। मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली स्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु।’</p><p>निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्णरुपमा पालना गरिरहेको पदाधिकारीलाई विवादमा ल्याउने क्रियाकलापहरु नगर्न आग्रह गरे। यसअघि मंगलबार कुलमानको नाम र तस्बिर भएको एउटा ट्विटर ह्यान्डलबाट काठमाडौंका उम्मेदवारको पक्षमा भोट मागिएको थियो।</p><p>@Kulmanghising2D नामक ट्विटर आइडीबाट स्वतन्त्र व्यक्ति, स्वतन्त्र उम्मेदवार भन्दै बालेन शाहको पक्षमा भोट मागिएको थियो। यो आइडीमा १७ हजारबढी फ्लोवर रहेका छन्।</p>
