भदौ २८, काठमाडौ । चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।

बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो । शल्यक्रिया गरी नाकको बाङ्गगो हाड सोझ्याउन उनी गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बुधबार दिउँसो अस्पतालले मृतक घोषणा गरेको थियो ।

उनका आफन्तले भने अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा नाराजुलुस गरेका छन् । बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ । माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् ।

यता अस्पताल प्रशासनले भने कमलाको उपचारमा डाक्टरको लापरवाही अस्विकार गरेका छन् । नाकको शल्यक्रिया सुन्दा सामान्य भएपनि संवेदनशिल अंग भएकाले यसको शल्यक्रियामा इन्फेक्सन बढी हुने अस्पताल प्रसाशनले जनाएको छ ।