भदौ ११, काठमाडौं । पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ ।

गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता आलेमगरले एउटै कोठामा सलको पासो लगाएर आत्महत्या गरे ।

नेपाली सेनाको प्युठ पदमा जागिरे उनका श्रीमान् बिदामा घर आएका बेलासमेत आफूसँग सरसल्लाह नगरी घर छाडेर बसेको भन्दै माया आलेसहित तीनै जनाले आत्महत्या गरेका थिए ।

छोरा विवेकको सुसाइड नोटका आधारमा बाबुको बाहिरी सम्पर्ककै कारण आमाले चित्त दुखाएको र तीनै जनाले आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । पछि मायाले श्रीमान्लाई आत्महत्याअघि गरेको म्यासेजसमेत प्रहरीले फेला पारेको थियो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

Related News