भदौ २७, काठमाडौं । इजरायल र खाडी देशहरु बीच सम्बन्ध चीसो भएको बिगतको परिवेशमा एक पछी अर्को देशसँग इजरायलले सम्बन्ध सुधार्ने प्रयास गरेको छ । एक महिना अघि मात्र युएईसँग एतिहासिक शान्ति सम्झौता गरेको इजरायलले बहराइनसँग पनि आपसी सम्बन्ध सामान्य बनाउन सहमति गरेका छन् । अमेरिकाको पहलमा इजरायल र खाडी देश बहराइनबीच ‘शान्ति सम्झौता’ भएको हो ।
यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले दिएका छन् । ट्रम्पले ट्वीट गर्दै ३० दिनभित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो देश भएको बताएका हुन् । यसको औपचारिक हस्ताक्षर आउँदो मंगलबार वाशिङ्गटन डिसीमा हुँदैछ ।

दशकौंदेखि धेरैजसो अरब देशहरुले इजरायललाई बहिस्कार गर्दै आएका छन् । उनीहरुले प्यालेस्टिनी विवाद समाधान गरेपछि मात्रै इजरायलसँग सम्बन्ध स्थापित गर्नुपर्ने बताउँदै आएका छन् । इरानले इजरायलसँग शान्ति सम्झौता गरेर युएईले मुस्लिम देशहरुलाई धोका दिएको आरोप लगाउँदै आएको अवस्थामा खाडी मुलुककै अर्को देश बहराइनले पनि इजरायलसँग शान्ति सम्झौता गरेपछि त्यसले अन्य खाडी मुलुकलाई समेत इजरायल मामिलामा मौन बस्न बाध्य बनाउने संकेत मिलेको छ ।
इजरायल–प्यालेस्टिनी संघर्ष समाधान गर्ने उद्देश्यले ट्रम्पले जनवरीमा मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका थिए । सोही योजना अनुसार ट्रम्प इजरायल–युएई र इजरायल–बहराइनबीच सम्झौता गराउन सफल भएको बताइएको छ ।
सम्झौतापछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले शुक्रबार बहराइनसँग पनि शान्ति सम्झौता भएपछि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘यो शान्तिको नयाँ युग हो । शान्तिका लागि शान्ति । अर्थव्यवस्थाका लागि अर्थव्यवस्था । हामीले धेरै वर्षदेखि शान्तिका लागि कोसिस गर्यौं । अब शान्तिले हाम्रा लागि कोसिस गर्ने छ ।’
युएईले पनि इजरायल–बहराइन शान्ति सम्झौताको स्वागत गरेको छ । युएईको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ, ‘एक अर्को महत्वपूर्ण र ऐतिहासिक उपलब्धि, जसले क्षेत्रीय स्थिरता र समृद्धिमा धेरै ठूलो योगदान दिने छ ।’