असोज २७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका १४ जनामा कोरोना संक्रमण देखिएको छ । उक्त मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा कार्यरत सबै कर्मचारीको गरिएको स्वाब परीक्षणमा १४ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक, रोजगार समन्वय महाशाखाका सहसचिव, प्रशासन शाखाका उपसचिव, मन्त्रीको निजी सचिवालयका एक जना सदस्य, सचिव तोयम रायका सवारी चालक र केही कार्यालय सहयोगीहरु रहेका छन् ।
यसअघिनै कोरोना भाइरस संक्रमणका मन्त्रालय मातहतका मुख्य कार्यालयहरु श्रम कार्यालय ताहाचल र बैदेशिक रोजगार वोर्डको कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको थियो । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही दिन श्रम कार्यालय ताहाचल बन्दनै भएको थियो । अहिले उक्त कार्यालयले स्वास्थ्य मापदण्ड सहित सावधानीका साथ सेवा प्रवाह गरिरहेको छ ।
त्यस्तै वैदेशिक रोजगार बोर्डको सेवा पनि कोरोना संक्रमणका कारण प्रभावित अवस्थामा छ । बोर्डले गत १८ गते एक सूचना जारी गर्दै बन्द छ । जसको कारण वैदेशिक रोजगार वोर्डबाट दिइने सेवाहरु प्रभावित भएका छन् ।