वैशाख १४, सप्तरी | सप्तरीमा बिहेमा डिजे बाजा रोक्ने विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ।

विवाहमा जन्तीसँगै ल्याइएको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सोमबार राति खडक–४ पन्सेरा टोलमा पासवान र एक समूहबीच विवाहमा डिजे बाजा रोक्ने विषयलाई लिएर कुटाकुट हुँदा पासवान घाइते भएका थिए।

उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पठाएकोमा उपचारको क्रममा बुधबार बिहान करिब १०ः०० बजे उनको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लले जानकारी दिए।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताए। घटनाको विरोधमा स्थानीयले सडक अवरुद्धसमेत गरेका थिए।