माघ १८, काठमाडौँ | विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

हाल ११ सम्पदाको पुनःनिर्माण भइरहेको छ । पशुपति क्षेत्रमा भूकम्पले क्षति भएका १६ सम्पदाको पुनःनिर्माण सुरु हुनसकेको छैन । स्रोत सुनिश्चितता हुन नसकेका यी सम्पदाको पुनःनिर्माण हुन नसकेको हो । हालसम्म जयवागेश्वरी, जीतजगप्रकाशेश्वर मन्दिर, गौरीघाट चौघेरा सत्तल, मृगस्थली क्षेत्रका शिवालय, दाफा भजन पाटी, कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर, घ्याम्पेपाटीलगायत सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विश्वरुप मन्दिर पुनःनिर्माण भइरहेकामा बजेट अभावका कारण काममा सुस्तता भएको जनाइएको छ ।

विश्वरुप पुनःनिर्माणका लागि चालु आवको बजेट सकिएपछि काममा सुस्तता आएको हो । जयवागेश्वरी मन्दिर हालै पुनःनिर्माण भएकामा यही माघ २० गते उद्घाटनको कार्यक्रम रहेको कोषले जनाएको छ ।

Related News