जेठ २३, काठमाडौं | हालै उपत्यका अपराध अनुसन्धान कार्यालयले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।‘दुबईबाट सुनको लेपन गरेको कपडा लगाएर २ जना नेपाल आउँदै छन् !’भन्ने सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्त कुँवरले आफ्ना अनुसन्धान अधिकृतहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेकी गर्न पठाए ।

जेठ २१ मा नेपाल एयरलाइन्सको उडान आरए–२३० बाट गुल्मी घर भएका सुरेश बहादुर शाही र कपिलवस्तु वाणगंगा घर भएका सन्दिप चन्द ठकुरी विमानस्थलमा ओर्लिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गरे । सर्ट–पाइन्टको भित्री भागमा सर्च गरे । उनीहरुले लगाएको कपडाको तौल सामान्य भन्दा गहकिलो थियो । त्यसपछि कपडा उधारे । कपडा उधारेर हेर्दा भित्र सुनको पेस्ट बनाएर लेपन गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीले बताए ।

पक्राउ पर्नेमा बारा घर भएकी २२ वर्षीया निर्मला घलान, धनुषा बडेश्वर–४ घर भएका ४१ वर्षीय बरुण भक्त माथेमा उर्फ राहुल, चिनियाँ नागरिक २७ वर्षीय लोब्सान ग्याल्सेन, नवलपरासीको सुनवल–१० घर भएका ४२ वर्षीय युवराज भुषाल र भारतीय नागरिक ५१ वर्षीय अमन राजपुत छन् । सुन ल्याउनेहरूको बयानका आधारमा पक्राउ परेका ५ जना दुबईबाट पठाएको सुन रिसिभ गरेर काठमाडौंमा बेच्ने भूमिकामा देखिएका छन् ।

सर्ट, पाइन्ट र अण्डरवेयरको भित्री भागमा लेपन गरिएको धुलो सुन ८ घण्टा भट्टीमा पकाएर संकलन गरिएको छ । भट्टीमा कपडासहित गालेर ८ सय ८६ ग्राम सुन संकलन गरिएको एसएसपी कुँवरले बताए ।

दुबई एयरपोर्टमा भीम लाहुरेले सुन लेपन गरिएको कपडा दिएको सुरेश र सन्दिपले प्रहरीलाई बताएका छन् । उनले सो कपडा नेपाल पुगेपछि ‘निर्मला घलानलाई दिनु’ भनेका थिए । सुन तस्करीको योजनाअनुसार विमानस्थलको पार्किङमा सुन लेपन गरिएको कपडा कुरेर बसिरहेको बेला घलान पक्राउ परेकी हुन् ।