माघ २, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आईपीओ भर्ने सबैलाई चन्द्रागिरि केबलकारको टिकटमा २५ प्रतिशत छुट दिने भएको छ ।

कम्पनीको बिहिबार बसेको साधारणसभाले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको हो ।

चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाउनुभएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालज्यूले यो योजना सार्वजनिक गरिएको जानकारी दिए ।

स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिनुहुने १२, ५६, ७४६ (बाह्र लाख छपन्न हजार सात सय छयालिस) आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना मिति २०७७ माघ ०५ देखि १ वर्षसम्मको लागि मान्य हुनेछ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।