वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइनबाटै हुने

Posted on: 06 Jun, 2024

जेठ २४, काठमाडौँ | सरकारले वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै गर्ने भएको छ।

आज कन्सुलर सेवा विभागले काठमाडौंमा गरेको एक कार्यक्रमबीच उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रममन्त्री डोलप्रसाद अर्यालले उक्त प्रणालीको सुरु गर्ने जनाएका छन्।

विभागले बुधबार सूचना प्रकाशित गरी ‘विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरणका लागि भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्य अनुरुप सूचना प्रविधिको प्रयोग मार्फत अनलाइनबाट प्रमाणीकरण गर्ने प्रकृया नेपाली राजदूतावास, अबुधाबीबाट सुरू हुन लागेको’ जनाएको छ।

परराष्ट्र मन्त्री श्रेष्ठले वैदेशिक रोजगार नेपालीको लागि अवसर र चुनौती दुवै रहेको भन्दै त्यसलाई थप सुरक्षित र व्यवस्थित बनाउन अनलाइन प्रणालीको शुभारम्भ गरेको बताए ।  

यस प्रणालीबाट सम्बन्धित रोजगारदाता र एजेन्सीहरूले अपलोड गरेको कागजपत्र सुरक्षित हुने र यसरी कामका लागि विदेश गएका नेपाली थप सुरक्षित हुने परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

त्यस्तै श्रममन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउदै लैजाने योजनाअनुसार सरकारले काम गरिरहेको बताए ।

उनले फ्री भिसा, फ्री टिकटको व्यवस्थालाई बढाउदै लैजाने बताए । हाल ४ प्रतिशत मात्रै सफल कार्यान्वयन भएको उक्त व्यवस्थालाई कम्तीमा पनि १५–२० प्रतिशतसम्म बनाउने उनले बताए।

अर्यालले वैदेशिक रोजगारमा जाने नागरिकलाई नठगी पठाउन पनि म्यानपावरहरूसँग निरन्तर छलफलमा रहेको जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!