असोज २३, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ ।

आयोगका अनुसार प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन् ।

प्रदेश सभातर्फ २६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो । अहिले सार्वजनिक गरेको विवरण पनि कतिपय जिल्ला र निर्वाचन क्षेत्रबाट सञ्चार सम्पर्कमा सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको आयोगको भनाइ छ ।

सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन् । यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् ।

प्रदेश १मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू छन् ।

Related News