मङ्सिर १३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको आरोप लगाएका छन् । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले दोस्रो स्थानमा रहेपनि एमाले ४९ सिटमा जाने अवस्था रहेकोमा अहिले ४४ सिट रहेको र बाँकी सिट एमालेको हातबाट फुत्काउने प्रयास भइरहेको दाबी गरेका हुन् ।

उनले कहीँ मान्छे मारेर, कहीँ बुथ लुटेर र गणनामा धाँधली गरेर ६ सिटको मत परिणाम आउन ढिलाइ भइरहेको बताए । राज्यसत्ताको दुरुपयोग गरेर विभिन्न स्वरूपमा धाँधली गरेको ओलीको आरोप छ । धाँधली नहुने हो भने एमाले धेरै सिटमा अगाडि हुने बताए । चर्को घेराबन्दी र चक्रव्यूहमा पनि नेपालको लोकप्रिय पार्टीको रूपमा एमाले हो भन्ने जनमतबाट स्थापित भएको उल्लेख गरे । गठबन्धन र अनेक किसिमका शक्ति लाग्दा पनि एमाले बलियो भएको दाबी गरे । एमालेलाई सरकार गठन हुन नदिन दौडधुप भइरहेको बताए । मतगणना नसकिँदै सरकार बनाउन दौडधुप गरिरहेको उल्लेख गरे ।

घण्टी पार्टीलाई कसले हावा भर्यो ?

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको टिप्पणी गरेका छन् । उनले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरे । उनले भने–‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’

सुकुम्वासी बस्तीमा तमासा गरियो

यता ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको टिप्पणी गरेका छन् । ओलीले अर्कै देशका नागरिकसँग झैँ व्यवहार गरेको बताए । नले सुकुम्वासी शान्त भएर खोला किनारमा बसेको बताउँदै उनले उनीहरूले केही नबिगारेको टिप्पणी गरे । उनले भने–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?’

Related News