पुस १२, काठमाडौँ । कांग्रेसका निर्वाचित महामन्त्रीहरूलाई सरकार गठनको छलफलमा नराखेर बालुवाटारले पार्टीलाई शून्यमा पुर्याएको आरोप लागिरहेका बेला संस्थापन पक्षले भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भूमिकामाथि नै प्रश्न उठाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवालाई सत्ताच्युत गर्ने नाममा महामन्त्रीको भूमिका कांग्रेसलाई सत्ताबाट सडकमा पुर्याउन सहयोगी बनेको आरोप देउवानिकट नेताहरूको छ । देउवापक्षकै नेताहरूबीच आरोप-प्रत्यारोप चलिरहेका बेला महामन्त्रीको भूमिकामाथि पनि प्रश्न उठाइएको हो ।

देउवानिकट एक नेताले भने, ‘सत्ता गठबन्धन जोगाउन नसक्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवा मात्र होइनन् पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि उत्तिकै दोषी छन् । महामन्त्री जस्तो जिम्मेवारी सम्हालेका व्यक्तिहरू आफ्नो दायित्व बिर्सेर पोखरा बरालिन हिँड्नु सरासर गलत छ । कांग्रेसलाई अब नयाँ ढंगले अगाडि बढाउने हो भने विशेष महाधिवेशनको विकल्प छैन ।’

कांग्रेसले सबै सांसदहरूलाई सरकार गठन नभएसम्म काठमाडौं उपत्यका नछाड्न एसएमएसमार्फत सूचित गरेको थियो । सांसद चन्दा चौधरीका अनुसार यो सन्देश सबैमा पठाइएको थियो र सबै सांसद काठमाडौंमा भएका बेला महामन्त्रीद्वय भने पोखरा लागेका थिए ।

कांग्रेस सांसदहरूलाई संसदीय दलको तर्फबाट पठाइएको एसएमएसमा भनिएको थियो, ‘माननीय सांसद, नयाँ सरकार गठन नभएसम्म काठमाडौं उपत्यका बाहिर नजानु हुन निर्देशनअनुसार जानकारी गरिन्छ ।’

तर, महामन्त्रीद्वय भने सरकार गठन प्रक्रियामा पार्टीको नेतृत्व स्थापित गर्नेगरी कुनै भूमिका नदेखाई सोही दिन पोखरा पुगेको आरोप छ । महामन्त्री थापा पोखरा पुगेको केहीबेरमै प्रचण्ड प्रधानमन्त्री बन्ने टुंगो एमाले गठबन्धनबाट लागेको थियो । यद्यपि शर्मा र थापाले भने आफूहरूलाई कुनै पनि छलफलमा सहभागी नगराइएको बताएका छन् ।

‘नयाँ सरकार गठन नहुँदासम्म राजधानी नछाड्न संसदीय दलको निर्देशन थियो । पार्टीको निर्देशनविपरीत उहाँहरू किन पोखरा जानुभयो । महामन्त्रीद्वयले पार्टीको निर्देशन मान्नुपर्दैन ? महामन्त्रीद्वय पार्टीभन्दा ठूला हुनुहुन्छ ?’, संस्थापन पक्षका एक नेताले भने ।

Related News