माघ १९, काठमाडौँ | राजनीतिक पार्टीमा आफ्नो नाम जोडेको भन्दै कुनै बेला आफ्नै आमाबुबाविरुद्ध मुद्दा हालेका दक्षिण भारतीय फिल्मका सुपरस्टार थलापति विजय अन्नतः सक्रिय राजनीतिमा प्रवेश गरेका छन् ।

भारतीय लोक सभाको निर्वाचन नजिकिँदै गर्दा विजयले आफ्नो पार्टीको नाम घोषणा पनि गरेका हुन् । उनले पार्टीको नाम तमिलागा वेत्री कझगम राखेका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै सन् २०२४ को लोकसभा चुनावमा आफू नलड्ने घोषणा गरेका छन् । उनले चुनावमा कुनै पार्टीलाई समर्थन पनि नगर्ने उल्लेख गरेका छन् । ‘हामीले यो निर्णय सामान्य र कार्यकारी परिषदको बैठकबाट लिएका हौं’, उनले भनेका छन् ।

‘हामी आफ्नो पार्टी तमिलागा वेत्री कझगमलाई रजिष्टर गर्नका लागि आज चुनाव आयोगमा निवेदन दिँदैछौं । हाम्रो लक्ष्य आगामी २०२६ को विधानसभा चुनाव लड्नु र जित्नु हो । साथै मौलिक राजनीतिक परिवर्तन ल्याउनु हो, जुन मानिस चाहन्छन्’, विज्ञप्तीमा भनिएको छ ।

दक्षिण भारतमा विजयको अलग्गै पहिचान छ । रजनीकान्तपछि विजयलाई त्यहाँका जनताले सर्वाधिक मनपराउँछन् । विजयले आफ्नो फिल्मको घोषणा गर्नासाथ फ्यान उनको फिल्मप्रति चासो राख्छन् ।

केही समयअघि मात्र उनले ‘गट’को घोषणा गरेका थिए । यो फिल्ममा प्रभुदेवा, प्रशान्त र अजमलको अभिनय हुनेछ ।