माघ २८, काठमाडौँ | नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको प्रहरी टोलीले फरार रहेका दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेनामा भर्ती गराउने भन्दै चार लाख रुपियाँ ठगेर थापा फरार भएका हुन् । उहाँले थापालाई सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर–११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको बताउनुभयो ।

अहिले नेपाली सेनाका लागि छनाेट प्रक्रिया चलिरहेको हुँदा सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको पाइएको प्रहरीले जनाएको छ । थापालाई बाँके जिल्ला अदालतमा हाजिर गरेर सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाउँदै डिएसपी तिवारीले अन्य व्यक्तिलाई समेत नेपाली सेनामा भर्ती गराइदिन्छु भनी थापाले रकम लिई ठगी गरेको हुनसक्ने भएको हुँदा कोही पीडित व्यक्ति भएमा यथाशीघ्र प्रहरीमा सम्पर्क राख्न अनुरोध गरिएको बताउनुभयो ।