चैत २३ काठमाडौँ | भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ आगामी चैत २९ गतेदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत रहने भएका छन् ।

मुलुक संघीय संरचनामा गएपछि सरकारका विभिन्न तहको संगठनहरुबीच समायोजन गरिँदै छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार चैत २८ गतेदेखि अधिकांश जिल्लास्तरीय कार्यालय नरहने भएकाले केन्द्रीय तथा जिल्लास्तरीय एकाइलाई प्राधिकरण मातहत राख्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चैत २० गते बसेको निर्देशक समितिको १२ औँ बैठकले प्राधिकरणको संगठन संरचनाको प्रस्तावलाई स्वीकृत गरेको थियो । निर्णयलाई चैत २९ गतेदेखि कार्यान्वयनमा लैजाने तयारी गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिनुभयो ।

बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा सम्बन्धित सेवा सञ्चालन गर्ने मन्त्रालयलाई नयाँ संगठन संरचना बमोजिम आवश्यक पर्ने कर्मचारी तुरुन्त खटाइदिन समेत निर्देशन दिएको छ ।

नयाँ संगठनात्मक संरचनाअनुसार अब पुनःनिर्माणका लागि तीन वटा छुट्टाछुट्टै जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालय रहने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो । अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले भूकम्पपीडितलाई अनुदान वितरण र स्थानीय पूर्वाधार निर्माणको कार्य गर्नेछ भने शिक्षाले शैक्षिक संस्था र भवनले निजी आवास तथा सरकारी भवनको पुनःनिर्माणको काम गर्नेछन् ।

संगठनात्मक पुनःसंरचनापछि कर्मचारीको संख्या घट्नेछ । पुनःसंरचनापछि प्राधिकरण र अन्तर्गतका केन्द्रीय एवं जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइमा चार हजार ६५५ कर्मचारी मात्र कार्यरत रहनेछन् । हाल चार हजार ८७० कर्मचारी कार्यरत छन् । रासस