साउन ६,नयाँ दिल्ली। (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।

सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ५५ हजार १९१ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले पनि ४ लाख २ हजार ५२९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख २४ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १८ हजार ६९५ जना संक्रमित भएका छन् भने संक्रमणको कारण १२ हजार ३० व्यक्तिको मृत्यु भएको छ । त्यसपछि तमिलनाडुमा १ लाख ७५ हजार ६७८ संक्रमित रहेका छन् । राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २३ हजार ७४७ कोरोना भाइरस संक्रमित रहेका छन् ।

Related News