एजेन्सी | महिनौंदेखि तलब नपाएको भन्दै चीनका लागि अफगानिस्तानका राजदूत जाविद अहमद कइमले पद त्याग गरेका छन् । उनले गत साता पद त्याग गरेको बताइएको छ । अफगानिस्तानको नेतृत्व तालिवानले लिएपछि जाविद अहमद कइमका साथै बेइजिङस्थित अफगान कुटनीतिज्ञ तथा अन्य कर्मचारीले तलब पाएका छैनन् ।

कइमले सोमबार ट्वीटरमा एउटा हस्तान्तरणपत्र पोस्ट गरेका थिए जुन पत्र १ जनवरीमा लेखिएको हो । कइमले सो पत्रमा उल्लेख गरेअनुसार दूतावासका कयौं कुटनीतिज्ञ यसअघि नै फर्किसकेका छन् । गत वर्ष अगस्टदेखि आफूले तलब नपाएको पनि उनले जनाएका छन् ।

‘धेरै कारण छन्, निजी पनि र पेशागत पनि, तर म यहाँ तिनलाई उल्लेख गर्न चाहन्न,’ उनले लेखेका छन् । चीनको सीमाको एउटा सानो हिस्सा अफगानिस्तानसँग जोडिएको छ । अगस्ट महिनामा तालिवान सत्तामा आएपछि चीनले अफगानिस्तानका लागि मानवीय सहायता पटक पटक उपलब्ध गराउँदै आएको छ ।

कइमले लेखेका छन्, ‘मैले कयौं पटक फोनमा कुरा गरिसकेको छु, म २ जनवरीदेखि राजदूत पद छाड्दैछु । परिस्थिति र बाध्यतालाई हेर्ने हो भने अफिसमा कहिले आउन पाउँछु भन्ने प्रस्ट छैन । त्यसैले म हस्तान्तरण पत्र पोस्ट गरिरहेको छु ताकि बेइजिङस्थित अफगानिस्तान दूतावासमा कुनै जटिलता बिना अर्को राजदूत आउन सकोस् ।’

जुम कलमा उपलब्ध हुन्छु

उनका अनुसार बेइजिङमा अफगान मिशनलाई राजनीतिक, आर्थिक, सांस्कृतिक, शैक्षणिक, व्यापार, सैन्य र प्रशासनिक इकाईमा विभाजन गरेर काम हुँदै आएको थियो । सबै विभागका लागि दूतावासमा अलग अलग कोठा रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘यसअघि भएका काम कारवाहीका सम्पूर्ण दस्तावेज कार्यालयमै छन्, यस अतिरिक्त हालै के भयो र अब के हुनुपर्छ भन्ने विषयसँग सम्बन्धित दस्तावेज पनि दूतावासमै छन् । यसका बाबजुद पनि केही अन्योल भएमा म जुम कलमा उपलब्ध हुनेछु ।’

इस्लामिक रिपब्लिक अफ अफगानिस्तानले जुन कुटनीतिज्ञलाई बेइजिङस्थित दूतावासमा नियुक्त गरेको थियो, उनीहरु १५ अगस्ट २०२१ पछि नै यहाँ बस्न नचाहेको पनि उनले उल्लेख गरेका छन् । तीमध्ये कयौंले यसअघि नै चीन छाडेर गएको पनि उनले जनाएका छन् । नयाँ राजदूत बेइजिङ आउँदा दूतावासमा कोही कुटनीतिज्ञ नहुने पनि उनले उल्लेख गरेका छन् ।

एक लाख डलर र पाँच कार

कइमका अनुसार ६ महिना यता दूतावासका कर्मचारीले तलब पाएका छैनन् । ‘यस क्रममा हामीले आर्थिक संकट सुल्झाउनका लागि एउटा कमिटी बनाएका थियौं । बैंकमा हामीसँग बस्न र अन्य खर्चका लागि पैसा थियो । हामीले त्यही पैसालाई त्यतिबेला उपयोग ग¥यौं,’ उनले लेखेका छन्, ‘हामीले कर्मचारीलाई तलब दिन सकिरहेका थिएनौं तर केही पैसा दिएर उनीहरुलाई खर्च चलाउन मद्दत गर्दै आएका थियौं ।’

१ जनवरी मिति उल्लेख गरिएको पत्रमा उनले लेखेका छन्, ‘आज करिब एक लाख डलर खातामा बचेको छ, केही अन्य खातामा पनि पैसा छ । म छुट्टै एउटा सूची पठाउँदै छु जसमा खाताका सम्पूर्ण विवरण हुनेछन् । दूतावासमा पाँच कार छन्, सबै कार मुख्य भवनको अगाडि पार्किङमा छन् । कारका चाबी कार्यालयमै छन् । यीमध्ये दुई कार पूराना छन्, जसलाई मर्मत गर्न आवश्यक छ ।’

चीनले ग-यो प्रशंसा

कइमले अगाडि लेखेका छन्, ‘मैले स्थानीय कर्मचारीको तलब भुक्तान यसै महिना २२ जनवरीसम्मको गरिदिएको छु र उनीहरुको काम अब सकिएको छ ।’ नयाँ राजदूत आउँदा दूतावासमा कोही त होस् भनेर आफूले रिसेप्सनमा शिओ ली नामकी एक कर्मचारीलाई कायम राखिएको पनि उनले जनाएका छन् । आफूले दूतावासको कार्यालय र घरहरुमा ताला लगाइदिएको जनाउँदै उनले रिसेप्सनमात्र खुला रहेको प्रस्ट पारेका छन् । त्यहाँ लगाइएका तालाका चाबी आफूले बेइजिङस्थित कतारको दूतावासमा आफूले बुझाएको पनि उनले जानकारी दिएका छन् ।=

चिनियाँ विदेशमन्त्रालयलाई पनि आफूले यसबारे जानकारी दिएको उनले पत्रमा उल्लेख गरेका छन् । रोयटर्स समाचार एजेन्सीका अनुसार अफगानिस्तानको विदेश मन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । तर मंगलबार चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको दैनिक प्रेस ब्रिफिङमा भने जाविद अहमद कइमले निजी कारणले चीन छाडेको जनाइएको थियो ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले भने, ‘हामी कइमको प्रयासलाई प्रशंसा गर्दछौं कि उहाँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउनुभयो । चीन हमेशा अफगानिस्तानसँग सुमधुर सम्बन्ध राख्नुपर्ने पक्षमा छ ।’

दिल्लीमा पनि अफगान दूतावासको अवस्था नाजुक

भारतको अंग्रेजी अखबार द हिन्दूमा १८ डिसेम्बरमा एउटा रिपोर्ट प्रकाशित भएको थियो जसमा अफगानिस्तानमा तालिवान आएपछि दिल्लीस्थित अफगान दूतावास आर्थिक संकटमा परेको र यहाँका राजदूत नै अन्योलमा रहेको उल्लेख थियो ।

फरीद मानुन्दजई गत वर्षको सुरुवातमा अफगानिस्तानको राजदूत बनेर नयाँ दिल्ली आएका थिए । नयाँ दिल्लीस्थित अफगान दूतावासमा हाल २० कुटनीतिज्ञ छन् । तर आर्थिक दुरावस्थाकै कारण दूतावासमा भारतीय कर्मचारीको संख्यामा भने कटौती गरिएको छ ।

राजदूत मानुन्दजईले भारतमा आउन चाहने अफगान नागरिकलाई प्रवेशाज्ञा नदिएको भन्दै भारतप्रति पनि असन्तुष्टि जनाएका थिए । ‘अफगानिस्तानका जनता मुस्किल अवस्थामा भारतले सहयोग गर्नेछ भन्ने आशामा छन्,’ उनले द हिन्दु अखबारसँग भनेका थिए, ‘विश्वका ७० मुलुकमा अफगान मिशन छ, तीमध्ये कुनैले पनि काबुलबाट सहयोग पाएका छैनन् ।’

Related News