एजेन्सी | फिलिपिन्समा शक्तिशाली तुफानका कारण ४९ जनाको मृत्यु भएको छ। गत हप्ता आएको शक्तिशाली राइ तुफानबाट प्रभावित मध्य फिलिपिनी प्रान्त बोहोलमा ४९ जनाको मृत्यु भएको हो। प्रान्तीय गभर्नर अर्थर यापले राहत कार्य जारी रहेको बताएका छन्।

यद्यपि, सरकारी तथ्याङ्क अनुसार भने मृत्यु हुनेको संख्या ३१ जना रहेको रोयटर्सले जनाएको छ। बोहोल प्रान्तमा सञ्चार सम्पर्क र विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

गभर्नर यापले विशेष गरी खानेपानीसहित राहत सामग्री सहयोग गर्न अपील गरेका छन्। यस्तै, दक्षिणी टापु डिनागटमा झण्डै ९० देखि ९५ प्रतिशत घरमा क्षति पुगेको र १० जना मानिसको मृत्यु भएको त्यहाँका अधिकारीले जनाएका छन्।

चार लाखभन्दा बढी मानिसलाई अस्थायी आवासमा राखिएको छ। फिलिपिन्समा हरेक वर्ष करिब २० उष्ण प्रदेशीय आँधी आउने गर्छ, जसका कारण बाढी पहिरो जाने गरेको छ।

Related News