बैशाख ३०, बैङ्कक । थाइल्यान्ड र श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा थाइल्यान्डमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गरेकी छिन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन् ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् । वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ ।

सन् २००० देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यानमालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन् । श्रीलङ्काले तीन दिनसम्म यससम्बन्धी विशेष सम्मेलन गर्दछ ।

श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नेछिन् ।

यसअघि राष्ट्रपति भण्डारीलाई थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बिदाइ गरे ।

Related News