जेठ १३, काठमाडौं । वैदेशिक रोजगारको लागि नेपाली युवाहरुको आकर्षक गन्तव्य राष्ट्र मलेसियाको मुद्रा मलेसियन रिँगेट निरन्तर कमजोर बन्दै गएको छ । तीन साताअघि एक रिँगेटको २९ रूपैयाँ ४९ पैसामा कारोबार भएकोमा शुक्रबार नेपाल राष्ट्र बैंकले एक रिँगेट बराबर २८ रूपैयाँ ८७ पैसामा कारोबार भएको छ । आज बिदाको दिन भएकोले आज पनि उही रेट कायम छ ।
निरन्तररूपमा रिँगेट कमजोर भएपछि मलेसियाको केन्द्रीय सरकारी बैंक नेगारा मलेसिया (बीएनएम)ले रिँगेट गिरावटको पछाडि आन्तरिकभन्दा बाह्य कारकहरू जिम्मेवार रहेको बताएको छ । बैंक नेगारा मलेसियाले अमेरिकी डलर र सिंगापुर डलरजस्ता प्रमुख मुद्राको तुलनामा रिँगेटमा आएको तीव्र गिरावट ‘बाह्य घटनाक्रम’को कारणले भएको र मलेसियाको अर्थतन्त्रमा कमजोरीको संकेत नभएको समेत दाबी गरेको छ ।
मलेसियालगायत अधिकांश विकासशील अर्थतन्त्रहरूबाट लगानीकर्ताको बहिर्गमन र लगानीकर्ताहरूले आफ्नो लगानीको सुरक्षा गर्न खोज्दा अमेरिकी डलर बलियो र रिँगेट कमजोर हुने बैंक नेगारा मलेसियाको भनाइ छ । तर मलेसियामा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले मलेसियामा सरकार र प्रतिपक्षीबीच सम्बन्ध मैत्रीपूर्ण नभएको कारणले मलेसियामा विदेशी लगानीमाथि जोखिम बढाएको टिप्पणी गरेका छन् ।
नयाँ योजना ल्याउनुभन्दा वर्तमान सरकार निवर्तमान प्रधानमन्त्री अब्दुल रज्जाकका पालामा भएको भनिएको भ्रष्टाचारविरूद्ध मात्रै केन्द्रित भएकोले विदेशी लगानी पलायनको बाटोमा रहेको उनीहरूको भनाइ छ । नयाँ लगानी नआउने र विदेशी लगानी पनि पलायनको बाटोमा गए रोजगारी घट्ने उनीहरूले बताउने गरेका छन् ।