पढ्न करिब 2 मिनेट लाग्छ

असार ५,काठमाडौँ | भारतबाट आयात हुन थालेपछि प्याजको मूल्य आधा सस्तिएको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ५० रुपैयाँ प्रतिकिलोदेखि अधिकतम ५२ रुपैयाँसम्म बिक्री भइरहेको छ।

सोमबारसम्म प्याजको मूल्य स्थानीय बजारमा १ सय रुपैयाँभन्दा माथि पुगेको थियो। यद्यपि, कालिमाटी तरकारी बजारले भने लामो समयदेखि प्याजको मूल्य सार्वजनिक गरेको थिएन।

गत जेठ २१ देखि आयात रोकिएको प्याज असार ४ बाट सुचारु भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक उत्पादन बढाउने भन्दै प्याज र आलुलगायत अन्य कृषिजन्य वस्तुमा भ्याट लगाउने व्यवस्था गरेको छ।

यसबाट आयात निरुत्साहित भई आन्तरिक उत्पादन बढ्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गर्दै आएका छन्।

सरकारको यो नीतिपछि प्याजको मूल्य रातारात आकासिएको थियो। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष १० महिनामा चीन र भारतबाट १० करोड १० लाख ३५ हजार रुपैयाँबराबरका १२ लाख ५६ हजार ४ सय ८३ किलो प्याज आयात भएको छ। जसबाट सरकारले १ करोड १२ लाख ८० हजार राजस्व संकलन गरेको छ।

नेपाली गोलभेडाको मूल्य पनि बढ्यो

दुई दिन अघिसम्म थोकमा प्रतिकिलो २ रुपैयाँमा पनि नबिकेर फाल्नुपरेको गोलभेडा मूल्य केही हदसम्म बढेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तालिकाअनुसार नेपाली ठूलो गोलभेडाको मूल्य न्यूनतम प्रतिकिलो ३५ देखि अधिकतम ४५ रुपैयाँ कायम भएको छ।

त्यस्तै नेपाली सानो गोलभेडा (टनेल गोलभेडा) को मूल्य न्यूनतम प्रतिकिलो ९ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँ पुगेको छ।

त्यसैगरी भारतीय गोलभेडाको मूल्य न्यूनतम प्रतिकिलो ३५ देखि अधिकतम ४५ रुपैयाँ कायम भएको छ।