पढ्न करिब 1 मिनेट लाग्छ

पुस २५, काठमाडौँ । सल्यानका द्वन्द्वपीडित कालीबहादुर घर्तीमगरले न्यायका लागि पटकपटक सरोकारवाला निकायमा ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभएको छ ।

तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षबाट पीडित भनिएका कालीबहादुरले न्यायका लागि शान्ति समिति र सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिए पनि सुनुवाइ नभएको बताउनुभयो ।

न्यायका लागि सल्यानबाट राजधानी काठमाडौँ आएका कालीबहादुरले डेढ हप्तादेखि विभिन्न निकायमा धाएको तर कतैबाट पनि वास्ता नगरिएको राससलाई बताउनुभयो ।

तत्कालीन अवस्थामा सुराकीको आरोपमा विद्रोही पक्षबाट तीन पटकसम्म अपहरणमा परेको बताउने उहाँ विसं २०५६ देखि विस्थापित भई हाल (पाँच परिवारका साथ) बाँकेमा बस्दै आउनुभएको छ ।

स्थानीय जिल्ला प्रशासन कार्यालय, सत्य निरुपण तथा मेलमिलाप आयोगले प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै उहाँले आफूजस्तै पीडितलाई चाँडो राहत उपलब्ध गराउन सरकारसमक्ष आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस सल्यानको जिल्ला समिति सदस्यसमेत रहनुभएका पीडित कालीबहादुरले २०५६ सालमा जिल्लाको चाँदेकरेन्जी–३ को घर ध्वस्त बनाई करिब रु छ लाखको क्षति भएको बताउनुभयो । सल्यानमा राज्य र विद्रोही दुवै पक्ष गरी करिब छ हजार द्वन्द्वपीडित रहेको बताइन्छ । रासस