Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सट्टेबाजी आरोपमा पक्राउ परेका राईको ७५ वटा बैंक खाता, १२८ वटा इसेवा वालेट खाता

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर निवासी सुनिल राईलाई वानएक्स वेटमार्फत सट्टेबाजीमा ५५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार गरेको तथ्य फेला परेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, राई विभिन्न व्यक्तिका नाममा नागरिकता प्रमाणपत्र प्रयोग गरी ७५ वटा बैंक खाता खोली ती खाताबाट नियमित कारोबार गरिरहेको पाइएको छ। यी खाताहरूको केवाईसी फारममा आफ्नै फोटो टाँसेर उनले डेबिट अमाउन्ट कारोबार गर्ने गरेका थिए।

राईले फरक व्यक्तिका नामबाट १२८ वटा इसेवा वालेट खाता खोली, ती खातामार्फत विभिन्न उपकरण प्रयोग गरी आर्थिक कारोबार गरेका थिए। साथै, उनले २५ भन्दा बढी जिमेल आइडी प्रयोग गरी वानएक्स वेटसँग कारोबार गर्न सकिने प्लेटफर्महरूमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार राईले आफ्नो गतिविधि लुकाउन विभिन्न स्थानमा कोठा भाडामा लिँदै हुलिया परिवर्तन गरेर सट्टेबाजी सञ्चालन गर्दै आएका थिए।

पक्राउको क्रममा प्रहरीले राईको साथबाट विभिन्न सामग्रीहरू जसमा २ वटा ल्यापटप, ८ वटा मोबाइल फोन, ८० थान एनसेल सिमकार्ड, ५ थान एनटीसी सिमकार्ड, ११ वटा नागरिकता प्रमाणपत्र, १५ वटा राहदानी, २२ थान बैंक चेकबुक, ४२ थान एटीएम कार्ड, २ थान वाइफाई राउटर, एउटा मोटरसाइकल बरामद गरेको छ।

प्रहरीले राईविरुद्ध थप अनुसन्धान सुरु गरेको छ। बैंक खाता, वालेट, र आइडीहरूको प्रयोगमार्फत सट्टेबाजीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको छ। पक्राउ परेका राईलाई सम्बन्धित कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढाइने बताइएको छ।