२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रोजगारदाताको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएकी सरस्वतीको मुद्दाको सुनुवाइ पुनः सुरु

६ माघ २०८१, आईतवार १७:५८

काठमाडौँ | साउदी अरबका तीनै तहको अदालतबाट मृत्युदण्ड सजाय पाएकी रूपन्देहीकी सरस्वती गुरुङ घिमिरेको मुद्दाको न्यायिक प्रक्रिया पुनः सुरु भएको छ।

घरेलु श्रमिकको रूपमा साउदीको राजधानी रियाद गएकी घिमिरेलाई आफ्नै रोजगारदाता अब्दुल रहमान अब्दुल अजिज अलाज लानको हत्या अभियोगमा दोषी ठहर गरिएको थियो।

२०७० भदौ २३ मा अब्दुलको आफ्नै घरमा हत्या भएको थियो। तर, घिमिरेले आफू निर्दोष रहेको र फसाइएको दाबी गर्दै आएकी छन्। उनका अनुसार हत्या भएको दिन मास्क लगाएर एक साउदी नागरिक घरभित्र आएका थिए। उनले घिमिरेलाई शौचालयमा थुनिदिए। दुई घण्टापछि शौचालय खोलेर घिमिरेको हातमा धारिलो चक्कुले प्रहार गरिदिए। त्यो चक्कु घिमिरेको हातमा नै राखिदिएर फेरि शौचालयमा थुनिदिएका थिए।

नेपाली दूतावाससमक्ष भनेकी छन्, ‘मलाई फसाइयो। म निर्दोष छु।’ मालिक र मालिक्नीबीच खटपट र अंश विवादको सिकार आफू भएको घिमिरेले बताउँदै आएकी छन्।

घिमिरेलाई साउदीको तल्लो, उच्च र सर्वोच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। तर, रियादस्थित नेपाली दूतावासले पहल गर्दै मुद्दाको पुनः सुनुवाइ गराउन साउदीको सर्वोच्च अदालतमा अपिल गरेपछि पुनरावेदन अदालतमा शून्यबाट सुनुवाइ सुरु भएको हो।

‘सर्वोच्च अदालतले मुद्दा पुनरावेदनमा पठाई पुनः न्यायिक सुनुवाइको आदेश दिएको छ,’ दूतावासका उपप्रमुख डमरुबल्लभ पौडेलले बताए।

तल्लो तहको अदालतले २०७१ मंसिर २४ मा सरस्वतीलाई मृत्युदण्डको सजाय सुनाएको थियो। तीन वर्षसम्म दूतावासले यो सूचना पाएको थिएन। उता, सरस्वतीका परिवारले भने उनलाई गुमाइसकेको ठानेका थिए। २०६९ वैशाखमा सरस्वतीको नाममा आएको शव बुटवलमा रहेका उनका छोरा सुनिल र छोरी सावित्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुझेका थिए। शव चिन्न नसकिने अवस्थामा थियो। घिमिरेको छोराका अनुसार आमाको नामको राहदानी र फोटोसहितको शव आएको थियो। शव पूरै चिन्न नसकिने अवस्था थियो। उनीहरुले त्यो शव आमाकै ठानेर दाहसंस्कार समेत गरेका थिए ।

तर, ६ वर्षपछि साउदी अरबमा रहेका सुनिलले आमालाई मलाज जेलमा भेटे। दूतावासले तपाईंको आमासँग मिल्दो नाम गरेको महिला जेलमा छिन् । तपाईंको आमा हो कि होइन ? भेट्न जानुपर्‍यो भनेर जानकारी पाएँ,’ उनले भने, ‘आमा त जेलमै हुनुहुँदोरहेछ ।’ उनको आमाको नाममा कसको शव आयो भन्ने पत्ता अहिलेसम्म लागेको छैन ।

तल्लो र उच्च अदालतबाट सुनाइएको मृत्युदण्डको फैसलालाई सर्वोच्चले पनि सदर गरेको थियो। ‘दूतावासबाट खटिएका कर्मचारी र सरस्वतीका तर्फबाट खटिएका वकिलले सर्वोच्चको फैसलाबाट न्याय नमिलेको भन्दै अदालतमा अपिल गर । त्यो आग्रहलाई सर्वोच्चले स्वीकार गरी फैसलालाई समीक्षा गर्न भन्दै पुनरावेदन अदालतमा पठाइदियो,’ दूतावासका उपप्रमुख पौडेलले भने, ‘गत वैशाखमा पुनरावेदनले मुद्दाको सुनुवाइ गर्न पाँच सदस्यीय न्यायाधीशको इजलास गठन गर्‍यो।’

‘जसको हत्या भनिएको छ। त्यो व्यक्ति सरस्वतीभन्दा निकै अग्लो, मोटो र बलियो रहेछ। होचो कद भएकी सरस्वतीले अग्लो कद र बलियो व्यक्तिको छातीमा चक्कु हानेर हत्या गरेको विषय पत्यारिलो छैन,’ सुवेदीले पुनरावेदनसमक्ष भनेका थिए, ‘सरस्वतीलाई फसाइने काम भएको छ। उनी निर्दोष छिन्। सुरुको अदालतमा गराइएको बयान गर्ने बेलाको भाषा अनुवादक नेपाली भाषाका जानकार होइनन्। जसले गर्दा बयान त्रुटिपूर्ण रहन गयो।’

पुनरावेदनको त्यो इजलासको राय विभाजित भयो। दुई जना मृत्युदण्डको पक्षमा उभिए। दुई जना विपक्षमा उभिए। सुनुवाइको दिन अनुपस्थित न्यायाधीश फैसला लेख्ने बेला मृत्युदण्डको पक्षमा उभिए। सर्वोच्चको आदेशमा सुनुवाइ भएको पुनरावेदनको ‘रिभ्यु’बाट सरस्वती दोषी ठहर भइन्। यो फैसलाविरुद्ध फेरि सरस्वती, उनका वकिल र दूतावास देखिए। उनीहरूले पुनः अन्याय भएको भन्दै सर्वोच्चमा निवेदन दिए।

सर्वोच्चले यसलाई शून्यबाट न्यायिक प्रक्रिया सुरु गर्ने भन्दै तल्लो अदालतलाई आदेश दिएको हो। सरस्वतीको पक्षमा साउदीको प्रभावशाली वकिलको फर्म खटिएको छ। मलाज जेलमा सजाय पाएका महिलाहरूले पनि सरस्वतीलाई सहयोग गर्न चन्दा संकलन समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ