Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या, पाँचजना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

धरान | सुनसरीको धरान उपमहानगरपालिका-१५ मा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । धरान सदन रोड बस्ने लालबहादुर राइका २१ वर्षीय छोरा रिजन राइको खुकुरी प्रहार गरि हत्या भएको हो ।

रिजनको हत्यामा सम्लग्न पाँचजनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान-८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई र धरान-५ का २१ वर्षीय सुदिप तामाङलाइ पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताए ।

आफ्नै साथीहरूसँग बसेर चिया खाएको र पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी रिजनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए।

गम्भीर घाइते रिजनलाई प्रहरीले तत्काल उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो। रिजनको टाउको, बायाँ कुम,बायाँ हातको हत्केला र कुहिना काटिएको अवस्था प्रहरीले भेटाएको डीएसपी तिमल्सिनाले बताए । उपचारका क्रममा रिजनको प्रतिष्ठानमै मृत्यु भएको उनले बताए ।

पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक दिवस कुवरले बताए ।