Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू-१९ विश्वकपको उपाधि

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | दोस्रो संस्करणको आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

उसले लगातार दोस्रोपटक यू–१९ महिला विश्वकपको उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणको विश्वकप फाइनलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले हराएको थियो ।

यसपटक फाइनलमा दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गोंगडी त्रिशाले ३३ बलमा ८ चौकासहित अविजित ४४ रन जोडिन् । अविजित नै रहेकी सानिका चाल्केले २६ रनको योगदान दिइन् ।

दक्षिण अफ्रिकाका लागि कायला रेयान्केले मात्र एक विकेट लिन सकिन् । त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८२ रनमा अलआउट भयो ।

उसका लागि मिके भ्यान भोर्स्टले २३, जेम्मा बोथाले १६ तथा फे काउलिङले १५ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । भारतका लागि गोंगडी त्रिशाले तीन, वैष्णवी शर्मा, आयुषी शुक्ला र पारुनिका सिसोदियाले दुई/दुई विकेट लिए ।

जारी संस्करणमा नेपालको पनि सहभागिता थियो । यद्यपि नेपालले समूह चरण पार गर्न सकेन । नेपालले ग्रुप स्टेजमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेलेको थियो ।