Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विपिन जोशीको यथार्थ अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन : परराष्ट्रमन्त्री राणा

By साझासवाल 3 मिनेट पढाइ

काठमाडौँ | परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन्।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन्।

विपिनको यथार्थ अवस्थाबारे यथार्थ जानकारी नभए पनि रिहाइका लागि पहल गरिरहेको उनले बताइन्। राणाले विपिनको रहाइका लागि अधिकतम कूटनीतिक पहल गरेको उल्लेख गरिन्।

हमासको कब्जामा नेपाली रहेको भए रिहाइका लागि अन्तर्राष्ट्रिय जगतबाट आश्वासन पाएको उनले बताइन्।

२०२३ अक्टोबरमा इजरायलमाथि आक्रमण गरेको हमासले विपिनलाई बन्ध बनाएर लगेको बताइएको छ। त्यसयता उनको रिहाइका लागि कूटनीतिक प्रयास भइरहे पनि यथार्थ अवस्थाबारे प्रस्ट हुन सकेको छैन। इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता केही बन्धकहरू रिहा भए पनि त्यसमा विपिन परेका छैनन्।

गत शनिबार ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा गएकी उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरेको परराष्ट्रमन्त्री राणाले बताइन्।

उनले जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन्।