काठमाडौँ | युगान्डामा जारी वुमन्स डे टी–२० कपमा नेपालले दोस्रो जित निकालेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो।
हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन जोडिन्। सम्झनाले ४३ बलको सामना गर्दै ३ चौका प्रहार गरिन्।
अर्की ओपनर तथा कप्तान इन्दुले ३२ बलमा १ चौकाको सहयोगमा १८ रन जोडिन्। रोमा थापा ४ रनमा आउट हँदा पुजा महतो २० रनमा नट आउट रहिन्। हङकङका लागि इमा लाइ र महेनदिप कौरले समान १ विकेट लिए। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको हो।
हङकङका लागि साञ्जिन शाहजादले सर्वाधिक ५४ रन जोडिन्। उनले ४७ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरेकी थिइन्। चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भईन्।
नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए।
सिरिजको लिग चरणको खेल समाप्त गर्दा नेपालले ६ मध्ये २ खेल जितेको छ। नेपालले आइतवार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल्नेछ। आजै हुने युगाण्डा र नामिबियाबीचको खेल पछि फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।
यस खेलमा नेपाललाई पराजित गरेको भए हङकङले फाइनलमा स्थान पक्का गर्ने थियो। यसै सिरिजमा यसअघिको भेटमा हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो।