काठमाडौँ | सहरी विकास मन्त्रालयले कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको नाममा बनाइने स्मृति भवनदेखि लिएर विभिन्न पूर्वाधारहरू निर्माण गर्न ७८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सिंहको नाममा पार्क, स्मृति भवन, खानेपानी ट्यांकी, अध्ययन प्रतिष्ठान तथा सडक पूर्वाधार निर्माणसम्मका योजनाहरू अघि सारिएका छन्।
मन्त्रालयले छुट्टाछुट्टै शीर्षकमा देशभर ४५ वटा योजना अघि बढाएको छ। ती योजनाहरूको बजेट १३ लाखदेखि ८ करोड रूपैयाँसम्मको छ, जसमा केही पुराना तथा अधिकांश नयाँ कार्यक्रमहरू समावेश छन्।
गणेशमान सिंहलाई नेपाली कांग्रेसमा ‘सर्वोच्च नेता’, ‘लौहपुरुष’ र ‘सर्वमान्य नेता’को रूपमा स्मरण गरिन्छ। अहिले उनै सिंहका छोरा प्रकाशमान सिंह उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीका रूपमा सरकारमा छन्।
उनी नेतृत्वमा रहँदा कांग्रेस पार्टीका कार्यकर्ता र शुभेच्छुक संस्थाहरूले सिफारिस गरेका योजनाहरूको पनि बजेटमा समावेश गरिएको छ।
कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको सिफारिसमा काठमाडौं महानगरपालिका–१३ मा निर्माण हुन लागेको गणेशमान सिंह स्मृति भवनका लागि ३ करोड रूपैयाँ बजेट छुट्याइएको छ। उक्त निर्णयप्रति आभार प्रकट गर्दै तरुण दलले विज्ञप्ति जारी गरेको छ।
काठमाडौंमा मात्रै सिंहको नाममा १३ वटा छुट्टाछुट्टै शीर्षकमा बजेट विनियोजन गरिएको छ। सातै प्रदेशका विभिन्न जिल्लामा सिंहको नाममा कुनै न कुनै योजना छुट्याइएको मन्त्रालयले जनाएको छ।