काठमाडौँ । विशेष सरकारी वकिल कार्यालयले दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अपुरो रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदन फिर्ता गरेको छ।
प्रहरी अनुसन्धानका अनुसार प्रसाईँले विभिन्न कम्पनीका नाममा लिएको २७ करोड रुपैयाँभन्दा बढी कर्जा दुरुपयोग गरेका थिए। सीआईबीले केही दिनअघि प्रतिवेदन पेश गरे पनि सरकारी वकिल कार्यालयले सो प्रतिवेदन अपुरो रहेको भन्नदै थप अनुसन्धानको आवश्यकता औंल्याएको छ।
सीआईबीको प्रारम्भिक निष्कर्षअनुसार प्रसाईँले पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र युए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा लिएको कर्जा ‘राउण्ड ट्रिपिङ’मार्फत अन्य प्रयोजनमा उपयोग गरेका छन्। उनीमाथि कर्जा प्रवाहको उद्देश्य विपरीत खर्च गरिएको आरोप छ।
विशेष सरकारी वकिल कार्यालयले फाइल फिर्ता गर्दै थप छानबिनका लागि ६ बुँदे निर्देशन दिएको छ। यस अन्तर्गत, प्रसाईँकी पत्नी, छोरा र बुहारीको आर्थिक कारोबारसमेत अनुसन्धानको दायरामा ल्याउन भनिएको छ। सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार, “सरकारी वकिल कार्यालयले परिवारका अन्य सदस्यहरूबारे पनि छानबिन गर्न निर्देशन दिएको छ।”
यसैबीच, चैत १५ मा काठमाडौँको तीनकुने क्षेत्रमा भएको ध्वंसात्मक प्रदर्शनसम्बन्धी मुद्दामा दुर्गा प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ। सो प्रकरणमा थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीले उनलाई कारागार चलान गर्न आदेश दिएका थिए।