काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल प्रारम्भ गर्न सभामुख देवराज घिमिरेले अनुमति दिन खोज्दा प्रतिनिधिसभामा बाधा उत्पन्न भयो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथिको सामान्य छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गरिरहेका बेला नाराबाजीका कारण सदनमा अवरोध देखिएको हो।
यहीबीच, नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेलाई सभामुखले बोल्न समय दिए। पाण्डेले अर्थमन्त्रीले बजेटबारे राखेको भनाइ महत्त्वपूर्ण रहेको तर नाराबाजीका कारण आफूहरूले स्पष्ट रूपमा सुन्न नसकेको गुनासो जनाएका हुन्।
उनले संसद सञ्चालनको तरिकाबारे सभामुखप्रति संकेत गर्दै भने, “सभामुखज्यू, सभा सञ्चालन गर्ने तपाईँको तरिका उपयुक्त भएन। यस्तो संवेदनशील विषयमा सहमति खोजेर अघि बढ्नुपर्छ।”
नाराबाजीबिच सदन सञ्चालन गर्दा बजेटबारेको अर्थमन्त्रीको प्रस्ताव खल्लो भएको भन्दै संसद् रोकेर सहमति गरेर सदन चलाउन आग्रह गरे ।