2026-07-29 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

काठमाडौँ | ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।

चिडियाखानाले गत वैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था सुरु गरेपछि अवलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरेकामा पछि सन्ध्याकालीन समय थप गरी साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको चिडियाखाना व्यवस्थापनले जनाएको छ ।

नयाँ व्यवस्था लागू भएपछि २०८२ वैशाख १५ देखि जेठ १५ गतेसम्म ९९ हजार २१९ जनाले चिडियाखानको अवलोकन गरेका छन् । उक्त सेवा सुरु हुनुअघि २०८१ वैशाख १५ देखि जेठ १५ गतेसम्म भने जम्मा ८४ हजार ३३६ जनाले अवलोकन गरेको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो ।

यस अवधिको तुलना गर्दा १४ हजार ८८३ जना सेवाग्राही बढेको र त्यसबाट चिडियाखानालाई करिब रु २५ लाख बढी आम्दानी भएको उहाँले बताउनुभयो । अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले आफ्ना कर्मचारीलाई तलबभत्ता र त्यहाँ राखिएका जीवजन्तुलाई आहारा खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।

हाल चिडियाखाना व्यवस्थापनले नेपाली वयस्क नागरिकलाई रु २००, विद्यार्थीलाई रु १३५, ज्येष्ठ नागरिकलाई रु १००, बालबालिकालाई रु ७५, ‘सार्क’ मुलुकका नागरिकलाई रु ५०० र विदेशी नागरिकलाई रु एक हजार प्रवेश शुल्कको व्यवस्था गरेको छ । चिडियाखानामा हाल जम्मा ७० कर्मचारी रहेका र दैनिक औसतमा दुई हजार जनाले अवलोकन गर्ने गरेका छन् ।

यसैगरी, अवलोकनकर्ताको आकर्षणका लागि वन्यजन्तुको उचित व्यवस्थापनका साथै हरियाली प्रवद्र्धन र सरसफाइ बढाइएको छ ।

मिर्गौला फेल भएर रेडपान्डाको मृत्यु, बाघ व्यवस्थापनमा कठिनाइ

चिडियाखानामा रहेको एक मात्र दुर्लभ ‘रेडपाण्डा’ केही दिनअघि मरेको छ । उक्त रेडपान्डा गत जेठ ३१ गते मिर्गाैला फेल भएर मरेको प्रमुख साहले बताउनुभयो । विसं २०७२ सालमा ल्याइएको रेडपान्डा अवलोकनकर्ताको मुख्य आकर्षक थियो । चिडियाखाना व्यवस्थापनले रेडपान्डा पाइने गौरीशङ्कर संरक्षण क्षेत्र, लाङ्टाङ राष्ट्रिय निकुञ्ज र इलाम क्षेत्रबाट एक जोडी रेडपान्डा चिडियाखानामा ल्याउनका लागि प्रक्रियाअघि बढाइसकेको जनाएको छ ।

त्यसैगरी, चिडियाखानामा एउटा मात्रै गैँडा रहेको अवस्थामा विश्व वातावरण दिवसका अवसर पारेर गत जेठ २२ गते चितवनबाट ल्याइएको एक जोडी गैँडा थप गरिएको छ । वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पहलमा ती गैँडा थप गरिएका हुन् । चिडियाखानामा हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामसलगायत ठूला वन्यजन्तुदेखि दुर्लभ जीवजन्तु रहेका छन् ।

हाल चिडियाखानामा पाँचवटा वयस्क पाटेबाघ रहेका छन् । खोरको कमीले ती बाघको व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । व्यवस्थापनले दुई जोडी बाघलाई मात्र पालैपालो फरकफरक स्थानमा अवलोकनका लागि राख्ने र बाँकी एक बाघलाई भने खोरको अभावका कारण ‘होल्डिङ’मा राख्ने गरेको छ । दुई भाले बाघसँगै राख्दा आपसमा लडेर मर्नसक्ने खतराका कारण जोडी बाघलाई मात्रै सँगै राख्ने गरिएको हो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो । जावलाखेलस्थित सदर चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको छ । पहिलो ३० वर्षको अवधि समाप्त भएपछि वन मन्त्रालयले हालै मात्र अर्काे थप ३० वर्षका लागि कोषलाई चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी प्रदान गरिसकेको छ । करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल ११७ प्रजातिका एक हजार ३०० वन्यजन्तु तथा पक्षी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै