काठमाडौँ । नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध आज दर्जनभन्दा बढी कानुन अधिवक्ताहरू बहसमा उत्रिएका छन्।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले जेठ २७ गते ती दुई अनलाइनमा प्रकाशित समाचार हटाउन आदेश दिएको थियो।
सम्बन्धित समाचारहरूमा जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत तोकी कमिसन मागेको आरोप लगाइएको थियो। उक्त समाचारप्रति आपत्ति जनाउँदै श्रेष्ठले अदालतमा निवेदन दिएका थिए।
सोही दिन अन्तरिम आदेशका लागि असार ४ गते पेसी तोकी दुवै पक्षलाई बोलाइएको थियो। विपक्षी अनलाइन सञ्चारमाध्यमहरूले भने समाचार लेख्ने आफ्नो संवैधानिक अधिकारको प्रतिरक्षा गर्दै लिखित जवाफ पहिले नै अदालतमा बुझाइसकेका छन्।
आजको सुनुवाइमा नेपाल बार एशोसिएसनका अध्यक्ष विजय मिश्र, महासचिव केदार सिटौला, तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, हर्कबहादुर रावल, ओमप्रकाश अर्याल, विकास भट्टराई, कपिलदेव ढकाल, चन्द्रप्रसाद भुसाल, राधिका खतिवडा, अम्बिका वस्ती, पुन्देवी महर्जनलगायतका वकिलहरूले बहस गर्दै छन्।