काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आज बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’को बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ।
बैठकका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जानकारी नै नदिई बैठक बोलाउन खोजिएको भन्दै उठेको वैधानिकता सम्बन्धी प्रश्नपछि बैठक रद्द गरिएको हो। मेयरले प्रशासनका कर्मचारीलाई प्रस्ताव तयार गर्न लगाएर आज बिहान ११ बजेका लागि बैठक बोलाएका थिए। तर, सचिवालयसँग समन्वय नहुँदा र सदस्यहरूबाट विधिको प्रश्न उठेपछि अन्ततः बैठक स्थगित गरिएको हो।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले बैठकबारे आफूलाई कुनै जानकारी नदिएको बताएका छन्।
स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरी मसान्तसम्म पारित गर्नुपर्ने कानुनी प्रावधान छ। तर मेयर संयोजक रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति अझैसम्म नबसेकाले काठमाडौँ महानगरको बजेट प्रक्रियामा अन्योल उत्पन्न भएको छ।
उक्त समितिमा उपमेयर सुनिता डंगोल, कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन र अनिता कार्की (ढोली) सदस्य छन्।
महानगर कार्यपालिका र नगरसभाको बैठकसमेत अझै अनिश्चित अवस्थामा रहेको छ, जसले आगामी बजेट तथा नीति कार्यक्रम तय गर्न चुनौतीपूर्ण परिस्थिति निम्त्याएको छ।