काठमाडौँ | राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले मुलुकको आर्थिक तथा कूटनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने डा भेषबहादुर थापालाई यस वर्ष पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको वैठकले सर्वसम्मतिसहित कूटनीतिज्ञ एवं अर्थविद् डा थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी साउन ९ गते भीमसेन थापाको २५१औँ जन्मजयन्तीका अवसरमा शीतल निवासमा एक विशेष समारोहकाबीच डा थापालाई सम्मान तथा पुरस्कृत गर्नुहुने कार्यक्रम छ । पुरस्करको राशि रु एक लाख नगदसहित सम्मानपत्र रहेको प्रतिष्ठानका अध्यक्ष डा तिमिल्सिनाले जानकारी दिनुभयो ।
सो प्रतिष्ठानले करिब तीन दशकदेखि राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा उहाँको जन्मजयन्तीका दिन इतिहास विषय वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ ।
प्रतिष्ठानले गत वर्ष चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई सो पुरस्कार प्रदान गरेको थियो ।