काठमाडौँ | डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् । बिहीवार बिहान नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडक खण्डमा ठाडा बजारबाट सदरमुकामतर्फ आइरहेको से १ ज ७३८ नम्बरको जिप सडक छेउबाट करिब पाँच सय मिटर तल खस्दा घटनास्थलमै चार जनाको मृत्यु भएको हो । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको र चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृतकको सनाखत हुन बाँकी छ भने दुर्घटनाको कारण पनि अहिलेसम्म खुलेको छैन । दुर्घटनामा परेकामध्ये कम्तीमा चार जना घाइते भएको अनुमान गरिएको छ । घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । उक्त जिप बिहान करिब सवा नौ बजे दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ