काठमाडौँ | सिरहामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका-२ टुर्कियामा निजी विद्यालयको बसको ठक्करले पैदल हिँडिरहेका स्थानीय मदन साहका ८ वर्षीय छोरा आदर्श साहको मृत्यु भएको हो । ठक्कर दिने ग १ ख ३७८८ नम्बरको बस गोबजारस्थित ट्रिनिटी बोर्डिङ स्कुलको हो । शुक्रबार बिहान ११ बजेको समयमा बसले ठक्कर दिँदा बालकको टाउकोमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए । बसका चालक गोलबजार-३ का २८ वर्षीय विमल भुजेल फरार छन् भने उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।