काठमाडौँ | गुल्मीमा जंगली विषालु च्याउ खाँदा छ जना बिरामी भएका छन् । गुल्मीदरबार गाउँपालिका-१ बलिथुमका रजाली परिवार बुधबार बिहान खानाको समयमा उक्त च्याउ खाँदा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
बलिथुमका ८३ वर्षीय केहरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीया विपना रजाली,१० वर्षीय किरण रजाली र छिमेकी ३६ वर्षीया बविना रजाली बिरामी परेका हुन् । स्थानीय शुभ सारथी मेडिकल हल मजुवामा उनीहरूको उपचार भइरहेको छ । बिरामीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । च्याउ खाँदा उनीहरूमा वाकवाकी लाग्ने, टाउको दुख्ने र पखाला लाग्नेलगायतका लक्षण देखा परेका थिए ।
जंगली च्याउ विषालु हुने भएकोले तरकारीका रूपमा प्रयोग नगर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गरेको छ ।