काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानले पुर्याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले विपद्को समयमा सरकारको उपस्थिति र नागरिकले पाएको सास्तीबारे टिप्पणी गरिन् ।
सांसद अर्यालले भदौ १० गतेको भोटेकोशीको बाढी र त्यसपछिका विभिन्न स्थानमा आएको प्राकृतिक विपद्ले जनजीवन अस्तव्यस्त बनाएको बताइन् । ‘देशैभरि अर्को विपद् थपिएको छ। कतै बस्ती डुबेका छन्, कतै पहिरोले घर पुरिएका छन्, त कतै सडक र पुल बगाएका छन्,’ उनले भनिन् । उनले विपद्का कारण नागरिकले ज्यान गुमाउनुपरेको, धेरै बेपत्ता भएको र हजारौँ नागरिक विस्थापित भएको तथ्याङ्क प्रस्तुत गर्दै सरकारको सक्रियतामाथि प्रश्न उठाइन् । ‘विपद्को यो घडीमा सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा र तत्काल उद्धार–राहत हुनुपर्ने हो। तर, अवस्था भने निकै निराशाजनक छ,’ उनले भनिन् ।
स्याङ्जा जिल्लाको सन्दर्भ जोड्दै सांसद अर्यालले भनिन्– ‘स्याङ्जाको मिर्मि र गुल्मीको हर्मिचौर जोड्ने मोटरेबल पक्की पुल बाढीले बगाएको छ। स्थानीय तहको समन्वयमा दीर्घकालीन सुरक्षा र पुनर्स्थापनाका लागि सरकारले राष्ट्रिय गुरुयोजना नै निर्माण गर्नुपर्छ।’ विपद् व्यवस्थापनसँग जोडिएका कानुनी अड्चनहरूलाई फुकाउन छिटोभन्दा छिटो कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् । ‘हामीले विगतमा पनि भन्दै आएका छौँ, विपद् व्यवस्थापनका लागि कानुन बनाउन ढिलाइ नगरौँ। राहत, सुरक्षित आवास र खानपानको व्यवस्था मिलाउन सरकारले विशेष पहल गरोस्, उनले भनिन् । सांसद अर्यालले क्षति पुगेका सडक, पुल, विद्युत् र सञ्चार संरचनाको तत्काल पुनर्स्थापना गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार गम्भीर हुनुपर्ने बताइन् ।