
काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।
प्रसाईंले केही दिनअघि जेनजी आन्दोलनमा शहीद भएका रसिक खतिवडालाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ । उनले सामाजिक सञ्जालमा सांसद खतिवडालाई लक्षित गर्दै ‘छोराको लाससँग सांसद पद साटेको’ लगायतका टिप्पणी गरेको भन्दै सांसद खतिवडा प्रतिनिधिसभाको बैठकमै रोएकी थिइन् । प्रसाईंलगायतले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको भन्दै सांसद खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउन प्रसाईंलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटकपटक पक्राउ पर्दै आएका छन् । गत साउन १८ गते सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए । त्यसैगरी, गत भदौ ४ गते प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा बरामद गरिएका सामान सर्वोच्च अदालतको आदेशपछि प्रहरीले फिर्ता गरेको थियो ।