काठमाडौँ | सांसद आनन्दप्रसाद ढुंगानाले डर–त्रासबाट शासन गर्ने सपना नदेख्न सरकारलाई चुनौती गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा सरकारविरुद्ध बोल्नेदेखि प्रक्रियाविपरीतका पक्राउ गरी सबैलाई तर्साएर शासन गर्न खोजेको आरोप लगाए ।
“हामी महेन्द्रको जन्म दिवसमा कालो झण्डा देखाएर आएका हौँ, शासनविरुद्ध लडेर जेल, नेल खाएर आएका हौँ, सरकारले डरत्रासमा राखेर शासन गर्ने प्रयास नगर्दा हुन्छ,” ढुंगानाले भने, “जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् ।”
उनले नेपालमा शासकले त्रसित बनाउन खोज्दा थप आक्रोश आउने गरेको भन्दै विगतबाट पाठ सिक्न प्रधानमन्त्री र सरकारका मन्त्रीहरूलाई आग्रह गरे । चोलेन्द्रशमशेर सुरक्षा घेराभित्रै रहेकाले उनलाई सुरक्षा थ्रेट नै भएको भए सुरक्षाकर्मी थप्नुपर्ने बताए । यदि उनीमाथि अनुसन्धान आवश्यक भएको भए पक्राउ पुर्जी दिएर ल्याउन सकिने ढुंगानाको भनाइ थियो ।