
काठमाडौँ | गृहमन्त्री सुधन गुरूङको सचिवालय सदस्यसँग सम्पर्क छ भनेर गरिएको अडिओ संवाद गर्ने व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बाँके नेपालगन्ज उपमहानगरपालिका-४ घर भई कागेश्वरी मनोहरा बस्ने ३७ वर्षीय आशिष मल्ललाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले अडिओ संवाद गरेपछि त्यस विषयमा बुझ्न जाँदा प्रहरीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको परिसरका प्रवक्ता एवं एसपी दानबहादुर थापाले जानकारी दिए। काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट उनलाई दुई दिन म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
प्रहरीका अनुसार उनीविरूद्ध बाँकेमा ६ वटा मुद्दा रहेको छ। दुरसञ्चार ऐन सम्बन्धी एउटा कसुर, अभद्र व्यवहार सम्बन्धी तीन वटा, बैंकिङ कसुरको एउटा र एउटा ठगी सम्बन्धी कसुरको मुद्दा दर्ता छ। एक मुद्दाको भने फरार सूचीमा समेत रहेको एसपी थापाले बताए।