काठमाडौँ | प्रतिनिधि सभाको बैठक सुरु नहुँदै विपक्षी दलहरूले अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको औपचारिक जानकारी गराउन नपाउँदै विपक्षी दलका सांसदहरूले आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन्।
विपक्षीको अवरोधपछि सभामुख अर्यालले ‘मान्य सदस्यहरू, मैले बैठक नै सुरु गरेको छैन’ भन्दै संसद्लाई जानकारी गराएका थिए। बुधबारको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले सोही पार्टीकी सांसद अम्बिका देवी संग्रौलालाई बोल्ने समय दिएका थिए। सांसद संग्रौलाले गत जेठ १७ गते संसदको रोस्टमबाट प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताएकी थिइन् ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति रोस्टमबाटै सच्याइनुपर्ने वा संसदको रेकर्डबाट हटाइनुपर्ने माग लामो समयदेखि गरिँदै आए पनि सम्बोधन नभएको भन्दै उनले यो विषय कहिलेसम्म सम्बोधन हुन्छ भनी सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।