काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकले विभिन्न महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । सभामुख डोलप्रसाद अर्यालले आजको कार्यसूचीमा रहेका प्रस्तावहरू पारित भएको घोषणा गर्दै बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले तीन वटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन् । मन्त्री गौतमले प्रस्तुत गरेका ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई सभाले समितिमा पठाउन स्वीकृति प्रदान गरेको छ । त्यसैगरी, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् । त्यो विधेयक पनि सभाबाट पारित भएको छ ।
बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस् भन्ने दुई वटा प्रस्ताव पेस गरेका थिए । मन्त्री पुनले पेस गरेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको विधेयकलाई सभाले पारित गरेको छ । त्यसपछि सभामुख अर्यालले बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरेका हुन् ।