
काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीवार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई प्रसाईंमाथि थप अनुसन्धानका लागि एक दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईंविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालतको अनुमतिसँगै साइबर ब्युरोले उनीमाथिको अनुसन्धानलाई थप एक दिन अघि बढाउन पाउने भएको छ । यसअघि प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दावी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो । प्रहरीका अनुसार प्रसाईंले सामाजिक सञ्जाल तथा युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिएका थिए । उनले एक भिडियोमार्फत सांसद खतिवडाले ‘छोराको शवसँग सांसद पद साटेको’ भन्दै टिप्पणी गरेको आरोप छ ।
सोही अभिव्यक्तिलाई लिएर सांसद खतिवडाले साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान थालेको हो । विद्युतीय माध्यमबाट कसैको चरित्र, प्रतिष्ठा तथा व्यक्तिगत मर्यादामा आँच पुर्याउने किसिमका सामग्री प्रकाशन वा प्रसारण गरेको विषयमा प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ । अदालतबाट थप एक दिनको म्याद पाएसँगै साइबर ब्युरोले प्रसाईंको बयान तथा घटनासँग सम्बन्धित डिजिटल सामग्रीलगायत विषयमा थप अनुसन्धान गर्नेछ ।