
काठमाडौँ | शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदहरूका मौखिक तथा लिखित प्रश्नहरूको जवाफ दिनुका साथै संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेस गरिएका छन्।
बैठकमा मन्त्रीहरूले तोकिएका मन्त्रालयको तर्फबाट सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ सदनसमक्ष पेस गरेका हुन् । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्नोत्तर कार्यक्रमअन्तर्गत सांसद जगत तिमिल्सिनाले अर्थ मन्त्रालयसँग सम्बन्धित सोधेको मौखिक प्रश्नको जवाफ अर्थमन्त्रीको तर्फबाट गृहमन्त्री सुदन गुरुङले सभासमक्ष पेस गरे।
गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरू पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले उठाएका प्रश्नहरूको जवाफ पनि गृहमन्त्री गुरुङले नै सदनमा पेस गरे। पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित सांसदहरू मदनकुमारी साह र पदमबहादुर परियारको मौखिक प्रश्न तथा सोमनाथ पोर्तेलको लिखित प्रश्नको उत्तर पनि गृहमन्त्रीले पेस गरेका थिए। बैठकमा पेस गरिएका यी प्रश्नहरूको उत्तर सांसदहरूलाई अध्ययनका लागि ‘पिजन हल’ मा राखिएको जानकारी राष्ट्रिय सभा अध्यक्षले गराए।
यसैगरी बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८३ तथा निर्वाचन आयोग र मुस्लिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन्। साथै विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका छन्।